नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीसँग कुनै हालतमा आत्मसमर्पण नगर्ने बताएका छन् ।
अनेरास्ववियुले आज मंगलबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले ओलीको चुरीफुरी प्रधानमन्त्रीको कुर्सीमा बसुञ्जेल मात्र भएको टिप्पणी गरे।
अध्यक्ष ओलीले आफूहरुलाई स्पष्टीकरण सोधेको प्रसंगमा उनले स्पष्टीकरणबाट नतर्सने र मैदान छाडेर नभाग्ने प्रष्ट पारे । ‘हामी मैदान छाडेर भाग्दैनौं। पार्टी हामी फुटाउँदैनौ, केपी ओलीले फुटाउँछन्,’ नेपालले भने।
‘मैले राजा वीरेन्द्रसँग डिल गरेको छु, ज्ञानेन्द्रसँग पनि डिल गरेको छु। गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईसँग पनि डिल गरेको छुु। केपी ओलीसँग डराउँदिन,’ नेपालले भने।
केही सञ्चारमाध्यमले आफू अलमलमा परेको समाचार प्रकाशित गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। ‘पत्रकार मित्रहरू, तपाईंले मलाई चिन्नुभएकै रहेनछ।’ जस्तोसुकै परिस्थिति आए पनि आफू विचलित नहुने भन्दै उनले अहिले पनि आनन्दले सुत्ने गरेको सुनाए ।
नेपालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली राजतन्त्र फर्काउन लागिपरेको दाबी पनि गरे । ‘तर जतिसुकै साँठगाँठ गरे पनि, प्रोत्साहन दिएर उचाल्ने काम गरे पनि इतिहास बनिसकेको राजतन्त्र फर्कंदैन।’ नेपालले भने, ‘राजतन्त्रवादी शक्तिहरूले प्रोत्साहन पाएका छन्। तर हामी उनीहरूलाई परास्त गरेरै छाड्छौं ।’