नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटाउन सफल केपी शर्मा ओलीले नेकपा एमाले पनि फुटाउन लागिपरेको आरोप लगाएका छन् ।
मंगलबार माधव कुमार नेपाल समूहसम्बद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले पहिले नेकपा फुटाएका ओलीले अहिले आएर एमाले फुटाउन खोजिरहेको बताएका हुन् ।
ओलीले पार्टीको विधान विपरीत गुटका मान्छे बोलाएर केन्द्रीय कमिटी विस्तार गरेको र बालुवाटारमा गुटको बैठक राखेर पार्टी विभाजनको रेखा कोरेको उनको आरोप छ ।
त्यस्तै, उनले पार्टी विधानको निरन्तर उल्लंघन गरेकाहरुले आफूहरुलाई स्पष्टीकरण सोध्नु लाजमर्दो भएको पनि बताएका छन् । साथै, स्पष्टीकरण आफूहरुले नभई पार्टी अध्यक्ष केपी ओलीले दिनुपर्ने उनको जिकिर छ ।
उनले नवौं महाधिवेशनको निर्णयबाट बनेको विधानका धाराहरु कुल्चिएर विधान संशोधन गर्ने अधिकार कहाँबाट आयो ? भनेर प्रश्नसमेत गरेका छन् ।
त्यस्तै, उनले पार्टी सदस्य नै नभएकाहरुलाई केन्द्रीय सदस्य मनोनयन गर्ने तथा महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने अध्यक्ष ओलीको निर्णय विधान विपरीत भएको बताएका छन् ।