राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएकी छिन्।
राष्ट्रपति भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी मंगलबार अपराह्न स्वदेश फिर्ता भएकी हुन्।
राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा. एके अब्दुल मोमेन, बंगलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायतले बिदाइ गरेका थिए ।
राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीले बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदसँग सोमबार बेलुका दुईपक्षीय भेटवार्ता गरेकी थिइन् । भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपति निवास बङ्ग भवनमा सोमबार राति भएको भेटवार्तापछि दुई देशबीच पर्यटन, संस्कृति, स्यानिटाइजेशन र ट्रान्जिटका विषयमा समझदारीपत्र आदान प्रदान भएको थियो ।
बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बंगलादेशी राष्ट्रपति हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान ढाका आइपुगेकी थिइन् ।
राष्ट्रपति भण्डारीले ढाकास्थित ‘नेशनल परेड स्क्वायर’मा आयोजित ‘नेपाल–बंंगलादेश सम्बन्ध र बंगगबन्धुको जन्म शतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रूपमा सम्बोधन गरेकी थिइन् ।