logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एक महिनाअघि बेपत्ता भएका झा दम्पतिको शव फेला


अंकुरण खबर
1.937K
Shares

एक महिनाअघि बेपत्ता भएका महोत्तरी पिपरा गाउँपालिका-५ का झा दम्पतिको शव फेला परेको छ ।

बिहीबार बिहान पिपरा गाउँपालिका-२ अतरार भन्ने ठाउँमा बेपत्ता झा दम्पति शव फेला परेको हो । पिपरा गाउँपालिका-२ अतरारमा स्काभेटरले सडक खन्ने क्रममा बोरामा पोको पारेको अवस्थामा शवको अवशेष फेला परेको प्रदेश २ का प्रहरी प्रमुख डिआजी धिरज प्रताप सिंहले जानकारी दिएका छन् ।

डिआजी सिंहका अनुसार प्रहरीले शंका गरी त्यहाँ खन्दै जाँदा बोरामा अर्को शव फेला परेको हो । ती दुई शव झा बेपत्ता भएका झा दम्पतिकै रहेको भनी उनका छोराले सनाखत गरीसकेको महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिए ।

शवको टाउको छुट्टिएको अवस्थामा फेला परेको छ । उनीहरुको सोही ठाउँमा हत्या गरिएको हो वा अन्त हत्या गरेर त्यहाँ ल्याएर गाडिएको हो भन्नेबारे अनुसन्धान भइरहेको एसपी आचार्यले बताए ।

गत फागुन १० गते महोत्तरीको पिपरा गाउँपालिका-५ का ६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झालाई घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहितै बेपत्ता पारिएको थियो ।

झा दम्पति मोही जग्गा विवादको मुद्दामा साक्षी बसेको र अदालतमा विचाराधीन रहेको मुद्दाका विपक्षीसँग उनको केहि दिन अघि विवाद भएको स्थानीयले बताए ।

सोही कारण उनीहरुको अपहरण भएको स्थानीयको भनाइ छ ।