छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमणको दर बढ्न थालेपछि लुम्बिनी प्रदेशका सीमा क्षेत्रमा सुरक्षा सर्तकता अपनाइएको छ ।
प्रदेशका विभिन्न जिल्लामा रहेका नाकाहरुमा निगरानी बढाउँदै स्वास्थ्य सावधानी अपनाइएको प्रशासनले जनाएको छ ।
रुपन्देहीको बेलहिया, नवलपरासीको महेशपुर, कपिलवस्तुको कृष्णनगर, दाङको कोइलाबास, बाँकेको जमुनियाँ नाकामा स्वास्थ्य चेकजाँच गरी सर्तकता अपनाउन थालेको प्रशासनको दाबी छ। तर, सीमा क्षेत्रमा भने सावधानी निकै कम अपनाइएको छ। भारतबाट आएकाहरुको सामान्य चेकजाँच गर्ने गरिएको छ ।
सरकारले समेत जोखिम हुनसक्ने भन्दै सावधानी अपनाउन निर्देशन दिएसँगै प्रमुख नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ ।
रुपन्देहीमा सोमबार हेल्थ डेस्क स्थापना गरेर निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए। उनका अनुसार स्वास्थ्य चेकजाँचसँगै नेपालतर्फबाट भारतमा किनबेचका लागि जान रोक लगाइएको छ । भारतमा कोरोना संक्रमण बढेकाले त्यताबाट आउनेहरुलाई विशेष निगरानी अपनाउँदै स्वास्थ्य चेकजाँच गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
‘नागरिकलाई समेत सचेत रहन भनेका छौँ, सीमामा हेल्थडेस्क स्थापना गरेर सतर्कता अपनाइएको छ’ उनले भने ।
भारतमा रोजगारी तथा अध्ययनमा रहेकाहरु बेलहिया नाका हुँदै फर्कने गरेका छन् । दैनिक २०० देखि ३०० सम्म बेलहियाबाट आवतजावत भइरहेको बेलहिया प्रहरी कार्यालयले जनाएको छ । नाकाबाट ढुवानीका सवारी साधन भने निर्वाध रुपमा आइरहेका छन् ।