राजधानीमा वायु प्रदुयषण ह्वातै बढेको छ ।
आज विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं एक नम्बरमा परेको छ । प्रदूषण मापन गर्ने आईक्यूएयर डट कमले सार्वजनिक गरेको सूचीमा काठमाडौं एक नम्बरमा परेको हो। काठमाडौंको एक्यूआई २७७ पुगेको छ।
वायु प्रदूषण निकै बढेकै कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सकेसम्म घरभित्रै बस्न सबैलाई आग्रह गरेको छ। अचानक मौसममा आएको परिवर्तनसँगै काठमाठौं उपत्यकाभित्रको वायु प्रदूषण निकै बढेको भन्दै मन्त्रालयले यसले श्वासप्रश्वासमा कठिनाई,आँखा पोल्ने लगायत विविध स्वास्थ्य समस्याहरू देखा पर्न सक्ने बताएको छ।
मन्त्रालयले एक सूचना जारी गर्दै घरबाहिर खुलास्थानमा नबस्न, नखेल्न, मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम नगर्न अनुरोध गरेको छ।
त्यस्तै, बालबालिका, दीर्घ रोगी, ज्येष्ठ नागरिकहरुको विशेष ख्याल गर्न समेत मन्त्रालयले सुझाव दिएको छ। फोहोरहरुको उचित व्यवस्थापन गर्ने तर फोहोर जलाउने काम नगरी कसैले फोहोर जलाउने काम गरेमा त्यसलाई निरुत्साहित गर्न,सवारी नचलाउन, धुलो धुँवा उड्ने खालका पेशा, व्यवसाय, निर्माण कार्यहरु केही दिनलाई स्थगन गर्न पनि मन्त्रालयले आग्रह छ।