logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ऋणको सट्टा यौन शोषण : प्यास मेटाउन घरमै पुग्थे ‘साहु’


अंकुरण खबर
702
Shares

सोलुखुम्बु, थुलुङ दूधकोशी गाउँपालिका-९ की ४१ वर्षीया महिला चार वर्षदेखि यौन तथा श्रम शोषणमा परेको घटना बाहिरिएको छ।

छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले ६ हजार ऋण दिएपछि बारम्बार श्रमसँगै यौन शोषण गर्ने गरेको पीडित महिलाले आरोप लगाएकी छन्।

शनिबार सल्लेरीमा पत्रकारसँगको भेटमा ती महिलाले आफू अन्यायमा परेकाले न्याय माग्न सदरमुकाम आइपुगेको बताइन्। आर्थिक अवस्था कमजोर भएकाले २०७३ असार २ गते खड्गबहादुरबाट ऋण लिएको पीडित महिलाको भनाइ छ।

‘ऋण लिएलगत्तै असार ४ गतेदेखि मलाई उहाँको घरमा बारम्बार काम गर्न बोलाउन थाल्नुभयो’, पीडित महिलाले भनिन्, ‘आर्थिक अवस्था कमजोर भएका कारण उहाँले जे भन्यो त्यही मान्न बाध्य भएँ।’

घरायसी कामसँगै तीन–चार दिनको अन्तरमा उनीमाथि जबर्जस्ती शारीरिक सम्पर्क राख्ने गरेको ती महिलाको भनाइ छ।

‘दिनभरि कामको थकानसँगै उसलाई यौन चाहना भए जुनैबेला पनि आफू तयार हुनुपर्ने मेरो बाध्यता थियो,’ उनले भनिन्।

आफूले शारीरिक सम्पर्क राख्ने इच्छा छैन भन्दा ज्यान मार्नेसम्मको धम्की दिएपछि स्वीकार गर्नुको विकल्प नभएको उनको भनाइ छ।

गाउँघरमा जो कोहीलाई धाकधम्की दिएर खड्गबहादुरले श्रम शोषण गर्ने गरेको पीडित महिलाको आरोप छ।

तर, पीडक भनिएका राईले भने आफूले त्यस्तो कुनै पनि हालतमा नगरेको बताएका छन्।

यौन प्यास मेटाउन पीडितकै घर

खड्गबहादुरले घाँस काट्न, धान र कोदो रोप्नदेखि अन्य आवश्यक परेको बेला जुनसुकै काम गर्न पनि आफूलाई बोलाउने गरेको महिलाको भनाइ छ।

‘सुरुमा काम गर्न आउनु मलाई ब्याज चाहिँदैन भन्नुभयो’, महिलाले भनिन्, ‘केही समयपछि साँवा ब्याजको हिसाब गरौँ भन्दा पनि पछि हिसाब गरौँला किन अहिले गर्नु भन्दै काम लगाइरहे, मैले पनि मानिरहेँ।’

श्रम शोषण गरिरहेका राईले २०७५ सालदेखि भने निरन्तर यौन शोषणसमेत गर्ने गरेको पीडित महिलाको आरोप छ।

पीडित महिलाका ७० वर्षीय श्रीमान् गोठमा भएको मौकामा घर आउने र यौन प्यास मेटाउने गरेको महिलाको भनाइ छ।

रातको १२ बजेतिर आफ्नो घरमा आउने र कोही कसैलाई भनेको खण्डमा ज्यान मार्ने धम्कीसमेत दिने गरेको उनले बताइन्।

खड्गबहादुरको व्यवहारको विषयमा पीडितको पतिलाई जानकारी भएपछि काम गर्न नजाने निधोमा पुगेकी उनलाई खड्गबहादुरले तत्काल ऋण फिर्ता गर्न ताकेता गरेको बताइन्छ। तर, आफूहरूसँग फिर्ता गर्ने रकम नहुँदा बाध्य भएर अह्राएको काम गर्नुपरेको महिलाको गुनासो छ।

खड्गबहादुर र पीडित महिलाबीचको सम्बन्धका बारेमा पीडकको घरपरिवारलाई जानकारी भएपछि छोराहरू समेतले गत माघ २८ गते महिलाको घरमा पुगेर ज्यान मार्ने धम्की दिएको आरोप छ।

घर घेर्न पुगेपछि पति र घरपरिवारसहित छिमेकीलाई समेत घटनाको बारेमा जानकारी गराएको महिलाको भनाइ छ।

महिला सञ्जालको सहयोगमा जाहेरी दर्ता

सामान्य विवाद हुँदा समेत छिमेकी सबैलाई धाकधम्की दिने खड्गबहादुर देखि गाउँले सबै डराउने गरेको उनीहरूको भनाइ छ।

आफूहरू पनि असुरक्षित हुने त्रासका कारण गाउँका महिला अगुवाको साथमा घटनाको विषयमा उजुरी गर्न सल्लेरी आएको पीडित महिलाले बताइन्।

जिल्लामा क्रियाशील अन्तरपार्टी महिला सञ्जालको सहयोगमा गत फागुन १७ गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरिएको पीडित पक्षको भनाइ छ।

प्रहरीले आवश्यक अनुसन्धानका लागि सोही दिन खड्गबहादुरलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए।

प्रहरीको अनुसन्धानपछि जिल्ला अदालत सोलुखुम्बुमा मुद्दा बुझाइएकामा चैत ११ गते न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले खड्गबहादुरलाई एक लाख २० हजार रूपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ।

यता पीडित पक्षले भने आफूहरूलाई अदालतमा बयानका लागि नबोलाएको गुनासो गरेका छन्। पीडक पक्षको मात्रै बयानका आधारमा धरौटीमा रिहा भएपछि न्याय नपाउने आशंका आफूहरूमा रहेको पीडित महिलाको भनाइ छ ।

अब झनै ज्यान जोखिममा परेकाले गाउँ फर्कन नसक्ने पीडित परिवारको गुनासो छ। पतिसँगै आफू सल्लेरीमा आफन्तकोमा बसिरहेको र सातजना छोराछोरी गाउँमै छिमेकीको घरमा बसेको उनको भनाइ छ। रासस