logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

होली खेल्ने क्रममा झडप हुँदा बागलुङमा २ जनाको मृत्यु


अंकुरण खबर
3.12K
Shares

बागलुङको बडिगाड गाउँपालिका-१० दर्लिङ र प्युठान जिल्लाको सीमावर्ती क्षेत्रमा लागेको होली मेलामा युवा समूहबीच भएको झडपमा २ जनाको मृत्यु भएको छ ।

होली मनाउने क्रममा भएको विवादले उग्र रुप लिँदा केही व्यक्तिको हताहती भएको बताइएको छ ।

दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप भएको वडिगाड गाउँपालिको वडा नम्बर ९ का अध्यक्ष कृष्णबहादुर केसीले जानकारी दिए ।

गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा दुईको मृत्यु र केही युवा घाइते भएका वडाध्यक्ष केसीले बताए ।

मेला भएको क्षेत्रका स्थानीयले जनप्रतिनिधिलाई दिएको जानकारीअनुसार मृत्यु हुनेमा ३६ वर्षका प्रकाश कुँबर र ३४ वर्षका दिपक दमाइ रहेका छन् ।

उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय भीमगिठेले जानकारी दिएको छ ।

होली मनाउनका लागि भनेर आइतबार दिउँसो बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करीब ६०० जना उपस्थित भएका थिए । स्थानीयवासीका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका–७ र बडिगाड–१० का केही युवा बेपत्ता भएका छन् ।

घटनामा १० देखि १५ जनासम्म हताहती भएको हुनसक्ने स्थानीयवासीले बताएका छन् । इलाका प्रहरी कार्यालय भीमगिठेबाट प्रहरी टोली घटनास्थलतर्फ गएको जनाइएको छ।