logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बागलुङमा आफ्ना कार्यकर्ताको हत्या गर्नेलाई कारवाही गर्न कांग्रेसको माग


अंकुरण खबर
832
Shares

नेपाली कांग्रेसले बागलुङमा आफ्ना कार्यकर्ताको हत्या गरेकोमा दोषीमाथि कडा कारवाही गर्न माग गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार(आज) विज्ञप्ति जारी गर्दै बागलुङमा अमानवीय घटना घटेकोले दोषीलाई छिटो पक्राउ गरी कारवाही गर्न माग गरेका छन् ।

‘बल्देधुरीमा आइतबार भएको अमानवीय घटना अत्यन्तै निन्दनीय छ । होली खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका योजनाबद्ध षड्यन्त्र छ, यसको गहिरो अनुसन्धान गर्न तथा दोषीहरुलाई अविलम्ब पक्राउ गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ,’ शर्माले विज्ञप्तिमार्फत भनेका छन् ।

‘दुवै युवाको मृत शरीर भिरबाट करिब चार सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको स्थिति देखिन्छ ।

प्रहरी अनुसन्धानलाई तीब्र बनाएर दोषी उम्कन नदिन तदारुकताका लागि नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ,’ शर्माले भनेका छन् ।

घटनाको वास्तविक विवरण लिन, स्थानीयबासीसंग संवाद गर्न र जीवन गुमाएका युवाहरूका परिवारजन भेट्न कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र पूर्वसभापति प्रकाश शर्मा पौडेलसहित पार्टीको टिम सोमबार बिहान घटनास्थल गएको कांग्रेसले जनाएको छ ।

आइतबार होली मेलामा जम्मा भएका युवाहरुको दुई समूहबीच झडप हुँदा निसिखोला गाउँपालिकाका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइको मृत्यु भएको थियो ।  कुँवर कांग्रेस बागलुङ जिल्ला कार्यसमिति सदस्य हुन् ।