प्रधानमन्त्री केपी शर्मा ओली फुटबल हेर्न आज (सोमबार) दशरथ रंगशाला जाने भएका छन् ।
थ्री नेशन्स कपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्ने प्रधानमन्त्री ओली सोमबार साँझ रंगशाला जाने भएका हुन् ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालका अनुसार प्रधानमन्त्री ओली सोमबार साँझ सवा ५ बजेतिर रंगशाला पुग्नेछन् । खेल अवधिभर प्रधानमन्त्री ओली रंगशालामा मै हुनेछन् ।
खेल सकिएपछि प्रधानमन्त्री ओलीले विजेता टीम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गर्ने जनाइएको छ ।
राउण्ड रोबिनका दुवै खेलमा नेपालले किर्गिस्तान र बंगलादेशविरुद्ध गोलरहित बराबरी खेलेको थियो । बंगलादेशले भने किर्गिस्तानमाथि १-० को हात पारेर फाइनलको यात्रा तय गरेको हो ।