logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बर्ड फ्लुको जोखिम कायमै : घरपालुवा पक्षीलाई जङ्गली पक्षीको सम्पर्कमा आउन नदिन विज्ञको आग्रह


अंकुरण खबर
806
Shares

पशुसेवा विभागले पशुपक्षी फार्म अथवा अरु बिक्री वितरण स्थलमा अस्वाभाविक रुपमा पशुपक्षी बिरामी परेमा तत्काल नजिकको पशुसेवा निकायमा खबर गर्न आग्रह गरेको छ ।

देशका विभिन्न ठाउँमा बर्ड फ्लु सङ्क्रमणको जोखिम कायमै रहेकाले पशुपक्षी अस्वाभाविक रुपमा बिरामी परेमा वा मर्न थालेमा तत्काल खबर गर्न विभागले आग्रह गरेको हो । विभागका प्रवक्ता चन्द्र ढकालले घरपालुवा पक्षीलाई जंगली पक्षीको सम्पर्कमा आउन नदिन आग्रह गर्दै खुला रुपमा गरिने पक्षीपालनलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए ।

उनले आफूहरुले नियमित अनुगमनको कामहरु गरिरहेको र अनुगमनकै क्रममा केही ठाउँमा बर्ड फ्लुको सङ्क्रमण देखा परेको बताए । हिजो ललितपुर महानगरपालिका-१४ नख्खुमा पनि किसानले पालेका पक्षीमा बर्ड फ्लु देखिएको थियो ।  बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएसँगै ललितपुरको नख्खुमा किसानले पालेका हाँस, कुखुरा, बट्टाई, अण्डालगायत पक्षीजन्य वस्तु नष्ट गरिएको छ ।

नमुना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पीसीआर परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको विभागका प्रवक्ता ढकालको भनाइ रहेको छ । नख्खु क्षेत्रमा ५१६ हाँस, ८५४ स्थानीय कुखुरा, १५४ बट्टाई, ९४४ वटा अण्डा, ३३५ केजी दाना नष्ट गरिएको छ ।

यसअघि सुर्खेत, जाजरकोट र काठमाण्डौको तारकेश्वरको तीन ठाउँमा बर्ड फ्लु देखिएको थियो । यस्तै बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अरु ठाउँमा फैलिन नदिन त्यहाँ रहेका पशुपक्षीलाई तत्काल नियन्त्रणमा लिनका लागि सङ्घ, प्रदेश र पालिकाबाट दक्षजनशक्ति परिचालन गरिएको र त्यस क्षेत्रलाई पूर्ण निःसङ्क्रमण गरिने गरिएको प्रवक्ता ढकालले जानकारी दिए ।