logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीलाई भुसालको प्रश्नै प्रश्न- कसका लागि यो सब गर्दै हुनुहुन्छ कमरेड ?


अंकुरण खबर
1.781K
Shares

एमाले उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ पठाएका छन् ।

जवाफमा भुसालले ओलीमाथि प्रश्नै प्रश्न उठाएका छन् । ओलीलाई व्यक्तिवादको घोर नशाबाट ब्यूँझन उनले आग्रह गरेका छन् । उनले भनेका छन्, ‘सत्ता र शक्तिको भोगको हिसाबले तपाईँले पाउन अझै के बाँकी छ ? कसका लागि यो सब गर्दै हुनुहुन्छ कमरेड ?’

भूषालले लेखेका छन्, ‘मेरो लाख–लाख अनुरोध छ, कमरेड ! यस पार्टीलाई अगाडि बढ्न दिनुस् । अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्यूँझनुस् । क्रान्ति त अघि बढ्छ, बढ्छ । आज वा भोलि वा पर्सी तपाईँ दण्डित हुनु हुनेछ ।’

११ पेज लामो पत्र लेख्दै नेता भूषालले अध्यक्ष ओलीका कारण एमाले पार्टी नै विसर्जनको बाटोमा पुगेको आरोप पनि लगाएका छन् ।

ओलीले पार्टी अनुशासन तोडेको भन्दै नेता माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूषालसँग स्ष्पष्टीकरण मागेका थिए । पूर्व पार्टी नेकपामा रहँदा भएको मनोमालिन्यलाई आधार बनाई स्पष्टीकरण सोधिएको तर्क नेता नेपाल पक्षले लगाएको छ ।

पार्टीलाई बन्धक बनाएर ओलीले आफ्नो स्वार्थ पूरा गर्न खोजेको आरोप उनले लगाएका छन् ।

‘तपाईंले पार्टीको विचार, आदर्श, सामुहिकता, सामाजिकताजस्ता धरोहरहरू भत्काउँदै जानुभयो । अझै पनि हाम्रा अग्रजहरूको त्याग–बलिदानले निर्माण गरेका केही विरासत बाँकी छन्, जसमा आउने पिँढीले नेपाली जनताको, खासगरी श्रमजीवी वर्गको भरपर्दो लोकतान्त्रिक र क्रान्तिकारी पार्टीका रूपमा पुनर्जीवित गर्न सक्छन्,’ पत्रमा उल्लेख छ, ‘मेरो लाख–लाख अनुरोध छ, कमरेड ! यस पार्टीलाई अगाडि बढ्न दिनूस्। अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्यूँझनूस्। क्रान्ति त अघि बढ्छ, बढ्छ । आज वा भोलि वा पर्सी तपाईं दण्डित हुनु हुनेछ।’