logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अझै तीन दिन मौसम स्थिर रहने, तुवाँलो कायमै


अंकुरण खबर
780
Shares

आगामी तीन दिनसम्म मौसम स्थिर अवस्थामा रहिरहने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालको धेरै जसो स्थानको वायुमण्डल अझै स्थिर अवस्थामै रहेको छ । यही कारण प्रदूषणका कण छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिन गएको जनाइएको छ ।

देशको अधिकाश जिल्लाका धेरै ठाँउमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कण वायुमण्डलमै सञ्चित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको विभागले जनाएको छ ।

खासगरी राजधानि काठमाडौंलगायतका शहरहरु जहाँ पहिलेदेखि नै प्रदूषणको स्तर सामान्यभन्दा अधिक भएको छ। त्यस्ता ठाँउमा तुवाँलो अत्याधिक भएकाले वायुमण्डलको पारदर्शिता उल्लेखनियरुपले न्यून हुन गई जनजीवन असामान्य हुन गएको बताइएको छ ।

आगामी तीन दिन मौसम सुधार हुने अवस्था नदेखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन्। उनका अनुसार आजबाट पारदर्शिता केही बढ्ने सम्भावना रहेको छ । सोमबार देशको केही स्थानमा फाटफुट वर्षाका साथै हल्का हावा चलेको कारण पारदर्शिता बढेको बताइएको छ । ‘मौसम पूर्णरुपमा सुधार हुने अवस्था भने तत्काल देखिएको छैन् ।’ मौसमविद् नगरकोटीले भनिन् ।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुसमेतको आंशिक प्रभाव रहेको छ । दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागकै एक-दुई स्थानमा मेघगर्जन, चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।