होली खेल्ने क्रममा झडप हुँदा दुई जनाको ज्यान गएको बागलुङ घटनामा संलग्न भएको आरोपमा ५ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी कृष्णबहादुर पल्लीमगरले ५ जना पक्राउ गरिएको पुष्टि गरेका हुन्। एसपी पल्लीमगरले भने, ‘सोधपुछका लागि ५ जनालाई नियन्त्रणमा लिइएको हो। अनुसन्धानको क्रममा रहेकाले उनीहरुको संलग्नता छरछैन भन्न सक्ने अवस्था छैन।’
अनुसन्धानका लागि नियन्त्रणमा लिइएका उनीहरूको परिचय प्रहरीले खुलाएको छैन।
होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा बागलुङको बडिगाड गाउँपालिका-१० बल्देधुरीमा निसिखोला गाउँपालिका-७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको शव भेटिएको थियो।
घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले घटनाको कारण भने एक समूहकी युवतीलाई अर्को समूहका युवकले जबरजस्ती रङ दल्दा निस्किएको परिणमाको रुपमा औंल्याएको छ।