logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीले २३ चैतभित्र विश्वासको मत नलिए सरकारको वैधानिकतामाथि नै प्रश्न उठ्छ : सचेतक गुरुङ


अंकुरण खबर
2.587K
Shares

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले २३ चैतभित्र संसदबाट विश्वासको मत लिनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी प्रमुख सचेतक गुरुङले सर्वोच्च अदालतको संवैधानिक इजलासले ११ फागुनमा वर्तमान सरकारलाई ७६(१) अनुसार भने पनि २३ फागुनको फैसलाले ७६ (२) आकर्षित भएको बताए ।

उनले धारा १०० को उपधारा २ आकर्षित हुने र त्यसमा सत्तारुढ दल विभाजित भएमा वा सरकारमा भएको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको बताए ।

गुरुङले भने, ‘आज १८ गते भइसक्यो । २३ गते ३० दिन पुग्दैछ । ३० दिनभित्र विश्वासको मत लियो भने संवैधानिक रुपले वैधानिकता हासिल हुनसक्छ। ३० दिनभित्र विश्वासको मत नलिएको अवस्थामा सरकारको संवैधानिक हैसियत के हुने हो भन्ने प्रश्‍न उठ्ने देखिन्छ ।’

यस्तै, गुरुङले सरकारले विधिको शासनलाई नपछ्याएको बताउँदै प्रतिनिधि सभाको बैठक सामान्य एजेन्डाहरुमा मात्रै सिमित भएको बताए । सदनभित्र थुप्रै एजेन्डाहरु भएपनि ती एजेन्डाहरु अगाडी बढ्न नसकेको पनि उनले उल्लेख गरे ।