logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शिक्षा क्षेत्रको चौतर्फि विकासमा सरकार चुक्दैन : शिक्षामन्त्री श्रेष्ठ


अंकुरण खबर
1.3K
Shares

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षा क्षेत्रको चौतर्फि विकास गर्न सरकारले कुनै कसर बाकी नराख्ने बताएका छन् ।

बुधबार नर्वेली दूतावासको सहकार्यमा शिक्षा पत्रकार समाज र आसमान नेपालले प्रदेश नं २ को धनुषाका चार स्थानीय तहमा पाँच वर्षदेखि सञ्चालित ‘निक शिक्षा दिअँ’ कार्यक्रमको प्रभावकारीताबारे राजधानीमा गरेको छलफलमा मन्त्री श्रेष्ठले शिक्षा नीति ठीक नभएसम्म मुलुकको समृद्धि सम्भव नभएको बताए । सबैलाई सबै ठाउँमा सर्वशुलव र गुणस्तरीय शिक्षा दिन सरकार लागि परेको र आगामी दिनमा २ नं प्रदेशको शैक्षिक सुधारका लागि विशेष पहल गर्ने मन्त्री श्रेष्ठको भनाई थियो ।

कार्यक्रममा सरोकारवाला कुसुम विष्ट, डा.सोहन साह,दिलीपकुमार यादवले कार्यक्रमको प्रभावकारीता, भावी दिनमा गर्नु पर्ने कुरा र लक्षित वर्गमा ल्याएको परिवर्तनबारे प्रस्तुतिकरण गरे ।

कार्यक्रमले बालश्रममुक्त गर्ने, सबै विद्यार्थीलाई विद्यालयमा ल्याई निरन्तर अध्ययनमा लगाउने, विद्यालय र घरमा बालमैत्री तथा लैङ्गिकमैत्री सिकाइ दिने लक्ष्य लिएको छ । सो कार्यक्रम हाल ९२ विद्यालयमा १७ हजार विद्यार्थीकाबीच लागु गरिदै आइएको छ ।

कार्यक्रममा कार्यक्रम सञ्चालन गरिएका चार स्थानीय तहका प्रमुख तथा उपप्रमुख, शिक्षा मन्त्रालयका सहसचिव दीपक शर्मा, प्रदेश नं २ का शिक्षा विकास तथा विकास निर्देशनालयका निर्देशक चुडामणि फुयाँल, नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापा,आसमान नेपालका कार्यक्रम व्यवस्थापक दिलीपकुमार यादव, शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवाल लगाएत अन्य सरोकारवाला तथा पत्रकारको उपस्थिति रहेको थियो ।