आज पनि देशका केही स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
स्थानीय वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले बिहानै देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको तथा बाँकी भू-भागमा तुवाँलोको मात्रा रहेको विभागले जनाएको छ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने सम्भावना रहेको विभागले बताएको छ । बाँकी भू-भूभागको मौसम भने सफा रहनेछ।
प्रदेश १, बागमती, र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस्तै आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
कहाँ-कहाँ पर्यो पानी ?
काठमाण्डौ उपत्यकासहित देशका केही पहाडी क्षेत्रमा वर्षा भएपछि राहत मिलेको छ । तर, देशका अन्य ठाउँमा पानी नपरेकाले प्रदूषणको अवस्था उस्तै छ ।
हिजो बेलुकादेखि वाग्मती, गण्डकी र प्रदेश-१ का पहाडी ठाउँहरुमा पानी परेको छ । मौसमविद्का अनुसार गोरखामा २१ दशमलव ६ मिलीमिटर पानी परेको छ ।
ओखलढुङ्गामा १२ मिलीमिटर, काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा ९ दशमलव ८ मिलीमिटर पानी परेको छ भने प्रदेश एकको इलाममा ३ मिलीमिटर, ताप्लेजुङमा ३ दशमलव ८ मिलीमिटर धनकुटामा १ दशमलव १ र पोखरामा एक मिलीमिटर पानी परेको छ ।
पानी परेको क्षेत्रमा केही राहत मिले पनि पर्याप्त नभएको मौसमविद्ले बताएका छन् । लामो समयदेखि वर्षा नभएका कारण सुख्खापन बढेकाले अहिले परेको पानीले जमिन राम्ररी नभिज्ने मौसमविद्ले बताएका छन् ।
अहिलेको पानीले किसानलाई केही राहत भएको छ तर जमिन राम्रोसँग नभिजेकाले बालीनालीलाई फाइदा पुग्न अझै पानी पर्नु पर्ने विज्ञले बताएका छन् । हिजोको पानीले काठमाण्डौमा तुवाँलो केही हटेको छ ।