कास्कीमा नेकपा (एमाले) को समानान्तर कमिटी घोषणा गरिएको छ ।
बिहीवार नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहले समानान्तर कमिटी बनाएको हो । सो समूहले एमाले कास्की अध्यक्षमा धनराज आचार्यलाई चयन गरेको छ ।
सचिवमा होमबहादुर नेपाली छन् । कार्यसमितिका अरु पदाधिकारी पछि विस्तार गरिने जनाइएको छ ।
एमाले नेता माधवकुमार नेपालले समानान्तर कमिटी घोषणा गरेका हुन् । उनी एमालेबाट ६ महिनाका लागि निलम्बित भएपछि अर्का नेता सुरेन्द्र पाण्डेसँगै पहिलोपटक पोखरा आएका हुन् ।
कार्यक्रममा नेता नेपालले अब चाँडै केन्द्रको पनि घोषणा गर्ने बताए । नेपालले भने, ‘अब चाँडै केन्द्रको पनि घोषणा गर्नेछौं । जिल्लामा सबै संगठित हुनुहोस् । कमिटी बैठकहरू अब नियमित गर्नुहोस् । हामी सबै ठाउँमा संगठित भएर केन्द्रमा पनि घोषणा गर्छौं ।’
नेता नेपालले धेरै युवाको साथ आफूलाई आइसकेको भन्दै खुट्टा कमाएर नभाग्ने र केपी ओलीको कारबाहीबाट नडग्ने बताए ।