logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी केन्द्र र जसपाका कारण नयाँ सरकार बन्न सकेन : कांग्रेस प्रवक्ता शर्मा


अंकुरण खबर
1.573K
Shares

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुन नसक्नुको खास कारण माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) रहेको बताएका छन्।

समसामयिक राजनीतिक घटनाक्रमबारे बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले माओवादी केन्द्र र जसपाले ठोस निर्णय नगरेका कारण नयाँ सत्ता समीकरण हुन नसकेको आरोप लगाए।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता नगरेको र जसपाले वर्तमान सरकारलाई विस्थापन गर्ने विषयमा कुनै निर्णयका साथ नआएको हुँदा नयाँ सरकार गठन प्रक्रिया सुरु हुन नसकेको उनको भनाइ थियो।

उनले कांग्रेस वा अरु कसैको नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्ने र जसपाले पनि एकढिक्का भएर उभिनुपर्ने आवश्यकता औंल्याए।

‘माओवादी केन्द्रले सरकारको समर्थनको सन्दर्भमा केही टुंगो गर्नुपर्ने हो,’ प्रवक्ता शर्माले भने, ‘कि समर्थन निरन्तर छ भन्ने उहाँहरुले निर्णय गर्नुपर्ने हो । समर्थन फिर्ता छ भने सार्वजनिक मञ्चबाट होइन लिखित रुपमा संसद सचिवालयमार्फतबाट सूचना जारी गरेर गर्नुपर्ने हो।’

त्यस्तो परिस्थिति विकास भइसकेपछि स्वाभाविक रुपमा प्रधानमन्त्रीजीले विश्वासको मत लिनुपर्ने उनले बताए। नेपाली कांग्रेसले विश्वासको मत वर्तमान सरकारलाई पक्कै नदिने विश्वास व्यक्त गरे।