जुम्लाको तिला गाउँपालिका-९, मुल्ली वस्तीमा आगलागी भएको छ। आगलागीबाट अहिलेसम्म ३५ घर जलेका छन्।
शनिबार रातिदेखि सुरु भएको आगो अझै नियन्त्रणमा आएको छैन। खरका छाएका घरहरू र गाउँमा पानीको अभाव भएका कारण आगो नियन्त्रणमा लिन समस्या भएको छ।
आगलागीको कारण खुलेको छैन।
जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार आगो नियन्त्रणका लागि प्रहरी घटनास्थल पुगेको छ। थापाका अनुसार मुल्लीवस्तीमा करिब ७५ घरधुरी छन्।
घटनामा मानवीय क्षति भएको छैन। मुल्लीवस्तीका स्थानीयवासी ६ महिना (बर्खायाम) मा मात्रै बस्ने भएका कारण मानवीय क्षति हुनबाट जोगिएको हो।
जिल्ला सदरमुकाम खलंगाबाट घटनास्थल झण्डै ६ घण्टाको दूरीमा पर्दछ।
क्षतिको पूर्ण विवरण आउन बाँकी छ।