स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले कोरोना प्रसार रोक्न तत्काल लकडाउनको उपायमा सरकार प्रवेश नगर्ने बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै मन्त्री त्रिपाठीले भारत र विश्वभर कोरोना संक्रमण बढिरहेको सन्दर्भमा नेपालमा पनि लकडाउनमा पुग्नुअघि अपनाउनुपर्ने सबै उपाय अवलम्बन गरिने बताएका हुन् ।
स्वास्थ्य सुरक्षाका मापदण्डहरुको प्रभावकारी पालना गर्न नसकेमा आगामी जेठ र असार महिनामा फेरि संक्रमण उच्च विन्दुमा पुग्ने मन्त्री त्रिपाठीको भनाइ छ । ‘जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च विन्दुमा पुग्नसक्छ,’ उनले भने ।
भारतमा बढ्दो संक्रमणले नेपाललाई थप सचेत बनाएको उनले बताए । अब बढ्ने संक्रमण नियन्त्रणका लागि संक्रमितको पहिचान, आइसोलेसनको व्यवस्था, अनिवार्य क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने मन्त्री त्रिपाठीले बताए ।