logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आगलागी नियन्त्रण गर्न हवाईजहाज र हेलीकप्टरको प्रयोगबारे गृहकार्य गर्न प्रधानमन्त्रीको निर्देशन


अंकुरण खबर
832
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले हाल देशमा उच्च वायु प्रदूषणको कारक बनेको आगलागी नियन्त्रण गर्न हवाईजहाज र हेलीकप्टरको प्रयोगबारे गृहकार्य गर्न सम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सम्पन्न रक्षा मन्त्रालयको चौमासिक बजेट समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसतो निर्देशन दिएका हुन् ।

उनले ठूलो मात्रामा र विकट जंगलका डढेलोमा हालका दमकल र जनशक्ति पर्याप्त नहुने औंल्याएका छन् । ‘अहिलेका जस्ता आगलागीमा प्रयोग गर्न सकिने र अरु बेला तिनलाई अन्य काममा पनि लगाउन सकिने बहुउपयोगी हेलिकप्टर वा हवाइजहाज ल्याउनेतर्फ गृहकार्य थालिनु पर्छ’, प्रधानमन्त्री ओलीले भने ।

यसका साथै हाल देशमा भएकै हवाईजहाज वा हेलिकप्टरमा अग्नी नियन्त्रक यन्त्र जडान गरेर तत्कालको समस्या समाधान गर्न सकिने भए सो का लागि समेत कार्य प्रारम्भ गर्न पनि प्रधानमन्त्री ओलीले निर्देशन दिए । यसकार्यमा नेपाली सेनाले अग्रसरता लिनु उपयोगी हुने उनको भनाई छ ।

आगलागीको परिणाम स्वरुप उत्पन्न वायु प्रदूषणले स्वास्थ्य समस्या देखिनेतर्फ सचेत गराउँदै प्रधानमन्त्री आलीले केही दिन यता आफूले समेत असहज महशुस गरेको बताएका छन् । ‘मभन्दा बुढाबुढी र रोगीलाई त झन् के भएको हुँदो हो ?’, प्रधानमन्त्री ओलीले भने ।