आज पनि काठमाडौं विश्वको सबैभन्दा बढी प्रदूषित सहर बनेको छ ।
काठमाडौंमा आज बिहान वायु प्रदूषणको मात्रा २६८ एक्युआई रहेको वायु प्रदूषणसम्बन्धी ताजा विवरण राख्ने स्वीट्जरल्याण्डको आइक्युएयर वेबसाइटले जनाएको छ ।
हिजो दिउँसो काठमाडौंको प्रदूषण झण्डै साढे ३०० एक्युआई पुगेको थियो । काठमाडौं तीन दिनदेखि लगातार विश्वको सबैभन्दा प्रदूषित सहरको नम्बर १ सूचीमा रहँदै आएको छ ।
देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण नेपालका अन्य सहर तथा ग्रामीण क्षेत्रको वातावरण प्रदूषित भएको वन तथा वातावरण मन्त्रालयको भनाइ छ । प्रदूषणको मात्रा २०० देखि ३०० सम्म एक्युआई पुग्नुलाई अत्यन्त अस्वस्थकर मानिन्छ । त्यसभन्दा माथिको अवस्थालाई घातक मानिन्छ ।
हिजो दिउँसो प्रदूषणको मात्रा घातक अवस्थामा पुगेकोमा आज बिहान केही घटेको हो । ठूलो वर्षा भएपछि मात्रै प्रदूषणको मात्रा नियन्त्रण भएर स्वस्थ हावा चल्ने विज्ञहरुले बताएका छन् ।