logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रिय जनगणनामा वित्तीय पहुँच र ऋण खाताबारेको विवरण संकलन गरिने


अंकुरण खबर
1.742K
Shares

राष्ट्रिय जनगणनामा पहिलोपटक वित्तीय क्षेत्रको पहुँच, ऋण खाता सञ्चालन र सरकारी अनुदानमा बनेका घर संरचनाको तथ्यांक पनि संकलन गरिने भएको छ ।

यस्तै, अन्य उमेर समूहका साथै १५ देखि ४९ वर्ष उमेर समूहका महिलाको मृत्युको अवस्था, देशमा अनुपस्थित नेपाली नागरिक, पुर्खाको भाषा र अपांगतासम्बन्धी विस्तृत विवरणसमेत संकलन गरिने छ ।

जनगणनाका क्रममा  सामुदायिक प्रश्नावलीमार्फत वडास्तरका तथ्यांक संकलनजस्तै कृषि र गैरकृषि उत्पादन र यसको निर्यातको अवस्था, वडाको प्रमुख राजस्वको स्रोत, सीमान्तकृत लोपोन्मुख जात, वडामा भौतिक, स्वास्थ्य र सामाजिक सुविधाका साथै विपद् जोखिमको अवस्था र पुग्ने गरेको क्षति, वन्यजन्तु, जंगली जनावरबाट पुग्ने गरेको क्षतिको विवरणसमेत संकलन हुँदैछ ।

यो पटकको जनगणना यसअघिको तुलनामा फरक र विस्तृत ढंगले गर्न लागिएको तथ्यांक विभागका निर्देशक बद्रीकुमार कार्कीले बताए । जनगणना कार्यका लागि कैलाली जिल्लामा दुई सहित सुदूरपश्चिम प्रदेशभरी ३७ वटा स्थानीय जनगणना कार्यालय स्थापना भएको उनले बताए ।

जनगणनाका लागि वैशाख २६ देखि जेठ १४ गतेसम्ममा घरपरिवारको सूचीकरण गर्ने तयारी विगभागको छ । गणना कार्य आगामी जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुँदैछ ।

जनगणनाको स्थलगत तथ्यांक संकलन कार्य गर्न देशभर झण्डै ३९ हजार गणक र आठ हजार सुपरीवेक्षक खटाउने तयारी छ । जनगणनासम्बन्धी तालीमलाई चरणबद्ध रूपमा सञ्चालन गरी केन्द्रीय र प्रादेशिकस्तरमा पर्याप्त सङ्ख्यामा विशेषरूपले प्रशिक्षित प्रशिक्षक उत्पादन गर्ने र जिल्ला एवं स्थानीय जनगणना कार्यालयस्तरमा सञ्चालन हुने सुपरीवेक्षक र गणक तालीममा दक्ष स्रोत व्यक्ति–प्रशिक्षक उपलब्ध गराउने लक्ष्य लिइएको छ ।