logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सूचना प्रविधि विधेयक संसदमा पेश नहुने


अंकुरण खबर
767
Shares

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस नहुने भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले विरोध गरेपछि त्यसलाई कार्यसूचीबाट हटाइएको हो ।

प्रतिनिधिसभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा ती दुई दलले सो विधेयक पेस गर्ने विषयलाई कार्यसूचीबाट हटाउनुपर्ने माग गरेका थिए । सत्तारुढ दल नेकपा एमालेका प्रतिनिधिले भने अन्तिमसम्मै सूचनाप्रविधि विधेयकको प्रतिवेदन पेस गर्नैपर्नेमा जोड दिएका थिए ।

संघीय संसद सचिवालयद्वारा सुरुमा सार्वजनिक सम्भावित कार्यसूचीमा विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन पेस गर्ने उल्लेख थियो । पछि त्यसलाई संशोधन गरिएको थियो ।

नेपाली कांग्रेसले फरक मत राख्दाराख्दै विकास तथा प्रविधि समितिबाट यो विधेयक १५ महिनाअघि २०७६ पुस १३ मा नै बहुमतले पारित भएको थियो । त्यतिबेला नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति निकालेर उक्त विधेयक सच्याउन माग गरेका थिए ।