गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को पनि सांसद पद गुमेको छ ।
माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालई आज (शुक्रबार) पत्र लेखेर बादललाई दलबाट हटाएको जानकारी गराएको हो । राजनीतिक दलसम्बन्धी ऐनअनुसार अब बस्ने राष्ट्रयसभा बैठकमा उनको राष्ट्रियसभा सदस्य पद रिक्त हुनेछ ।
बादल एमाले सदस्य भइसकेकाले माओवादी केन्द्रका तर्फबाट सांसद पदमा रहिरहन नमिल्ने भएकाले कारबाही गरिएको एक नेताले बताए ।
माओवादी पृष्ठभूमिका बादल नेकपा छँदै गृहमन्त्री भएका थिए । पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी दुई समूहमा विभाजित भयो । त्यतिबेला बादलले ओलीलाई साथ दिएका थिए ।
नेकपा नाम विवादको मुद्दा टुंग्याउने क्रममा सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि पनि बादल एमालेमै रहेका थिए ।
सांसद पद गएसँगै उनको मन्त्री पद पनि रहने छैन ।
उक्त पार्टीले यसअघि एमालेमा प्रवेश गरेका टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई पनि सांसद पदबाट हटाइसकेको छ ।