महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गरेबापत तिर्नुपर्ने जरिवानालाई अनलाइन मार्फत भुक्तानी गर्ने प्रणालीको विस्तार गरेको छ ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले यस अघि नै अनलाइन सेवा प्रदायक संस्थाहरूबाट सिधै ट्राफिक जरिवाना भुक्तानी सुरु भैसकेको र त्यसैलाई निरन्तरता दिँदै अझ बढी सहज, सरल र सुविधायुक्त बनाउन आजदेखि आफ्नै बैङ्क खाताबाट सिधै जरिवाना तिर्न सकिने गरी सेवा विस्तार गरेको जानकारी दिए ।
यसले आम सवारी चालकहरूलाई जरिवाना तिर्न बैङ्कमा लाइन बस्नुपर्ने, लामो समय व्यर्थ खर्चिनु पर्ने बाध्यताको अन्त्य भएको छ ।
महाशाखाले ट्राफिक जरिवाना रकम ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सूचना प्रणाली (आरआईएमएस) र सेवा प्रदायक संस्थाहरू बिचमा आबद्ध भई रियल टाइममा सम्बन्धित बैकको खाता मार्फत भुक्तान हुने गरी सिस्टम सञ्चालन गरेको महाशाखाले जनाएको छ ।
आज देखी थप ४५ वटा बैङ्क तथा बित्तिय संस्था र ७ वटा अनलाइन भुक्तानी सेवा प्रदायक संस्थाहरूबाट सिधै ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने छ ।