फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याकाण्डमा मुछिएकाहरुले उच्च अदालतबाट पनि सफाइ पाएका छन् ।
उच्च अदालत पाटन हटौडा इजलासले चितवन जिल्ला अदालतको फैसला सदर गर्दै सो हत्याकाण्डमा मुछिएकाहरुले सफाइ पाएका हुन् । न्यायाधीशहरु चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले आज जिल्ला अदालत चितवनकै फैसला सदर गरेको हो ।
अधिकारीका बुवा नन्दप्रसाद अधिकारीले आफ्नो छोरोका हत्यामा संलग्न भएको भन्दै छविललाल पौडेलसहित १२ जनालाई विपक्षी बनाई जिल्ला अदालत चितवनमा रिट दायर गरेका थिए । जिल्ला अदालत चितवनका न्यायाधीश कुलप्रसाद शर्माले ०७५ भदौ २४ गते उनीहरुविरुद्ध प्रमाण नपुग्ने भन्दै सफाइ दिने फैसला सुनाएका थिए ।
सो फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन परेकोमा ०७६ कात्तिक २५ बाट उच्च अदालतले सो मुद्दा हेरेको थियो । अधिकारीको ०६१ सालमा चितवनमा हत्या भएको थियो ।