logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फेरि विश्वकै नम्बर एक प्रदूषित शहर बन्यो काठमाडौं


अंकुरण खबर
871
Shares

विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौं फेरि शीर्ष स्थानमा उक्लिएको छ ।

सोमबारदेखि काठमाडौं विश्वकै अतिप्रदूषित शहरको सूचीमा शीर्ष स्थानमा परेको हो ।

पछिल्लो केही दिनयता हावा नलागेको, पानी नपरेको र डढेलो नियन्त्रणमा नआएकाले काठमाडौं उपत्यकाको हावामा धुवाँ र धुलोका कण थुप्रिएर प्रदुषित बनेको हो ।

हावाको गुणस्तर मापन गर्ने आइक्युएयरका अनुसार काठमाडौंको हावा सरदर २३३ एक्युआईमा छ । जुन स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ ।

सामान्यतया प्रदूषणको मात्रा १५० देखि माथि पुग्नुलाई हानिकारक मानिन्छ ।

हावामा प्रदूषणको मात्रा खतराको तह नाघेर २०० माथि पुग्नु काठमाडौं बस्न र हिडडुल गर्न स्वास्थ्यका लागि जोखिमपूर्ण हुने वातावरणविदले बताएका छन् ।

प्रदूषण बढेपछि काठमाडौंमा सास फेर्न समस्या बढ्दै गएको छ भने आँखा पोल्ने र शरीर पनि भारी हुने समस्या दैनिक बढेका छन् ।

काठमाडौंमा तुवाँलो कायमै छ । यसले पनि अझै केही दिन यता काठमाडौंको प्रदूषण हट्ने सम्भावना छैन । मौसमविद सचिना शाक्यका अनुसार अझै केही दिनयता काठमाडौंमा पानी पर्ने र हावा चल्ने सम्भावना कम भएकाले प्रदूषण हट्न समय लाग्ने देखिएको छ ।