logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सवारी व्यवस्थापनका लागि थप पाँच ठाउँमा ट्राफिक बत्ती जडान गरिने


अंकुरण खबर
858
Shares

काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने भएको छ ।

आगामी असार मसान्तसम्ममा उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने सडक विभागले जनाएको छ ।

विभागकाअनुसार काठमाडौं उपत्यकाका बढी सवारी चाप र यात्रुले सडक पार गर्ने स्थान छनोट गरी बत्ती जडान भइरहेको छ। पाँच चोकमा र त्यहाँका आठ जेब्राक्रसिङमा जडान गरिने सवारी व्यवस्थापन तथा ट्राफिक शाखाले जनाएको छ ।

बत्ती जडानका लागि रु एक करोड १५ लाखमा ठेक्का सम्झौता भएको छ । विभागकाअनुसार अहिले बत्ती जडान गरिरहेका स्थानमध्ये थापाथली र जडीबुटीमा पहिले पनि बत्ती रहेको थियो । पहिले थापाथलीमा एउटा निजी स‌स्थाले परीक्षणका लागि आफ्नो खर्चमा बत्ती जडान गरेपनि सफल नभएपछि बत्ती निकालेर लगेको थियो ।

विभागले अहिलेसम्म उपत्यकामा १९ स्थानमा ट्राफिक बत्ती जडान गरिसकेको छ । ठाउँठाउँमा उपत्यकाका पालिकाले राखेका पनि बत्ती छन् । यी सबै बत्तीमा कुन बत्ती कति समय बल्ने भनी व्यवस्थापनको काम ट्राफिक प्रहरी महाशाखाले गर्दै आएको छ । अरु निकायले जडान गरेको बत्ती पनि केही महिनामा विभागलाई नै हस्तान्तरण हुने विभागले जनाएको छ।

काठमाडौ‌ उपत्यका बाहिर पनि पोखरा नगरपालिकाले एक ठाउँमा ट्राफिक बत्ती जडान गरिसकेको छ । वीरगञ्जमा पनि जडान गरिने योजना बनाइएको छ । उपत्यकासँगै उपत्यका बाहिर पनि यसको माग भइरहेको छ ।

बत्ती जडान भएका स्थानमा ट्राफिक प्रहरीलाई सडक व्यवस्थापनमा सजिलो भएको छ ।