logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकामा प्रहरीको गोली लागेर अश्वेत युवाको मृत्यु, दुई शहरमा लगाइयो रात्रिकालीन कर्फ्यू


अंकुरण खबर
832
Shares

युवा हत्याको विषयलाई लिएर तनाव बढेपछि अमेरिकाका दुई वटा सहरमा कर्फ्यू आदेश जारी गरिएको छ ।

प्रहरीको गोलीले एकजना अश्वेत युवाको मृत्यु भएपछि बढेको तनावका कारण अमेरिकाका मिनियापलिस र सेन्ट पलमा रातभर कर्फ्यू आदेश जारी गरिएको हो ।

२० वर्षीय डन्टे राइटलाई ट्राफिक नियम उल्लघंन गरेको आरोपमा मिनसोटाको ब्रूक्लीन सेन्टरमा गोली हानिएको थियो । प्रहरीले उक्त घटनालाई दुर्घटना भने पनि सर्वसाधारणले त्यसलाई अस्वीकार गर्दै प्रदर्शन चर्काएका छन् ।

प्रहरी अधिकारीका अनुसार ट्राफिक नियम उल्लंघन गरेका राइटलाई पक्राउ गर्न खोजिएको थियो ।

प्रहरीले हतकडी लगाउन खोजे पनि उनी आफ्नो कारमा चढेर जाने प्रयास गरेका थिए । त्यसपछि पक्राउका लागि प्रहरीले उनलाई टेजर प्रहार गर्न भनेको थियो ।

तर महिला प्रहरी अधिकारीले भुलबस गोली प्रहार गरेको बताएकी छिन् । गोली लागेका राइट गाडी लिएर अघि बढेका थिए । केही पर पुगेपछि राइटको गाडी दुर्घटनामा परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।