नेकपा एमालेका सांसद झपट रावलले बुधबार राति १२ बजे अज्ञात समूहले आफ्नो घरमा ढुंगा प्रहार गरेको बताएका छन्।
राज्य व्यवस्था तगा सुशासन समितिको बैठकलाई जानकारी गराउँदै रावलले शान्तिनगरस्थित घरमा १२ बजे राति ढुंगा प्रहार भएको बताएका हुन्।
‘ढोकामा ढुंगा प्रहार भयो। केही होला भन्ने लाग्यो। त्यसपछि हामी उठ्यौं। घरबेटीसँग कुरा गरिरहेका थियौं। फेरि ठूलै ढुंगा हानेको आवाज आयो’, गृह मन्त्री रामबहादुर थापा र गृहसचिवसमेत उपस्थित रहेको बैठकमा उनले भने।
उनले प्रहरी कन्ट्रोलमा फोन गरेर घटनाबारे जानकारी गराउन खोज्दा फोन नउठेको बताए। ‘ध्रुव श्रेष्ठ वरिष्ठ कानुन व्यवसायी हुनुहुन्छ। उहाँले पनि विभिन्न ठाउँमा कल गर्नुभयो। त्यसपछि कोटेश्वर प्रहरी बिटका प्रमुखलाई कल गर्दा उहाँको पनि फोन उठेन’, उनले भने, ‘नजिकै बहालवाला डिएसपी बस्नुहुन्छ। उहाँको पनि फोन उठेन। पछि हनुमान ढोका कल गर्दा त्यहाँको प्रमुखले फोन उठाउनु भयो।‘
उनलाई खतरा बढेको सूचना दिएको आधा घन्टापछि मात्रै पुलिस आएको उनले गुनासो गरे। अहिलेसम्म पनि कुनै छानविन नभएको उनले दुखेसो पोखे। यसरी सरोकारवाला निकायले फोन नउठाउनु चिन्ताको विषय भएको उनले बताए।
राति सुतेको समयमा ढुंगा हानेको विषयमा अनुसन्धान गरेर तत्काल छानबिन गर्न उनले माग गरे। ‘फोन गरेको अवस्थामा फोन लागिसकेपछि फोनै नउठ्नुले कमजोर सुरक्षा व्यवस्था झल्किए छ’, उनले भने।