logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बिभिन्न ठाउँमा चट्याङ्ग लागेर तीन जनाको मृत्यु


अंकुरण खबर
806
Shares

चट्याङ्ग लागेर बाग्लुङ, स्याङ्जा र भोजपुरमा गरी तीन जनाको मृत्यु भएको छ ।

हिजो बेलुका परेको चट्याङ्ग लागेर बाग्लुङको तारखोला गाउँपालिका-२ सिलेका ४५ वर्षका खिमलाल कँडेलको ज्यान गएको प्रहरीले जनाएको छ ।

उनको धौलागिरी अस्पताल बाग्लुङमा उपचारका क्रममा राति १० बजे ज्यान गएको हो । प्रहरीका अनुसार गोठमा भैँसीको दूध दुहुँदै गर्दा उनलाई चट्याङ्ग लागेको थियो ।

यस्तै, स्याङ्जाको फेदीखोला गाउँपालिका-५ मा पनि चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ ।

घरमा बसिरहेका बेला चट्याङ्ग लागेर घाइते भएकी ३९ वर्षकी ईश्वरी लामिछानेको गण्डकी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

यसैबीच, भोजपुरको षडानन्द गाउँपालिका-८ निगुरेमा ६० वर्षकी मनमाया राईको पनि चट्याङ्ग लागेर ज्यान गएको छ ।

उनलाई पनि घरमै बसिरहेका बेला चट्याङ्ग लागेको थियो ।