logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओली राष्ट्रहित विपरीतका गतिविधिमा लागे : प्रचण्ड


अंकुरण खबर
702
Shares

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय हितविपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन् ।

शुक्रबार ‘बागमती प्रदेश कँराते च्याम्पियनसीप–२०२१’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीबाट देशलाई बन्धकी राख्ने तथा राष्ट्रिय हितविपरीतका गतिविधि गर्ने काम भएको बताएका हुन् ।

प्रधानमन्त्री राष्ट्रिय हितविपरीतका गतिविधिमा संलग्न भएका खबरहरू आएको भन्दै उनले सो खबरले नेपालीको इज्जत, प्रतिष्ठा र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न चिह्न खडा गर्ने पनि बताए ।

नेपालीहरूलाई राष्ट्रहितविरोधी षडयन्त्र स्वीकार नभएको पनि अध्यक्ष दाहालले बताए ।

उनले भने, ‘अहिले पनि केही मानिसहरूले त्यस्तो सपना देख्छन् । संघीयतालाई खारेज गर्ने, स्थानीय तहमा गएको अधिकारलाई खोसेर फेरी केन्द्रका केही सीमित व्यक्तिहरूको हातमा केन्द्रित गर्ने, समावेशिता र समानुपातिकतालाई उल्ट्याउन खोज्ने प्रवृत्ति देखा परेको छ । केही मुट्ठीभर मान्छेहरूले षड्यन्त्रपूर्ण तरिकाले यसलाई उल्ट्याउन खोज्ने कुरा नेपाली जनतालाई मान्य छैन ।’

अध्यक्ष प्रचण्डले आर्थिक विकास र समृद्धिको लागि खेल क्षेत्रको भूमिका र महत्व बढ्दै गएको पनि बताए ।