गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रिय सभा सदस्यसँगै मन्त्री पद गुमेको छ ।
नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएपछि उनको सदस्यसँगै मन्त्री पद गुमेको हो ।
संसद सचिवालयले आइतवार एक सूचना निकालेर थापाको पद रिक्त भएको जनाएको छ।
बादल २०७४ सालको चुनावमा माओवादी केन्द्रको उम्मेदवारका रुपमा बागमती प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका थिए । त्यसपछि माओवादी र एमाले एकता भएर नेकपा बनेको थियो । तर सर्वोच्चको आदेशले एकता खारेज भएपछि बादल पुरानो पार्टी माओवादीमा नफर्की एमालेमै बसेका हुन् ।
माओवादी केन्द्रले एमालेमै बसेका कारण बादललाई कारवाही गरेको थियो । सांसदबाट पद मुक्त गर्न माग पत्र सचिवालयमा दर्ता गरेको थियो ।
