केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ ।
शैक्षिक प्रमाणपत्र किर्ते गरी डाक्टर भएको भन्ने विशेष सूचनाको आधारमा अनुसन्धान व्यूरोले अनुसन्धान गर्दा उनीहरु पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक सहकुल थापाले बताए ।
पक्राउ पर्नेहरुले एसएलसी लगायतको शैक्षिक प्रमाणपत्र नक्कली बनाई एमबीबीएस अध्ययनको लागि बंगलादेश जान नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट स्वीकृति लिएका थिए ।
पक्राउ पर्नेहरुमा महोत्तरी जिल्लाका सुभाषप्रसाद शाह र पल्लवी सिंह, धनुषाका मोहम्मद शाहिद राजा, मनाङका दीपेन्द्र गौतम, सप्तरीका अखिलेश प्रसाद देव र मोहमद सिद्दिकी, ललितपुरका फराज हुसेन खाँ रहेको सिआईबीले जनाएको छ ।
उनीहरुमध्ये मोहमद सिद्दिकी, सुभाषप्रसाद शाह, मोहम्मद शाहिद राजा र दीपेन्द्र गौतमले विभिन्न अस्पतालमा काम गरिरहेका थिए ।
दीपेन्द्र गौतम पश्चिम रुकुमको चौरजहारी अस्पतालमा कार्यरत थिए । मनाङको चामे गाउँपालिका-१ का गौतमको एसएलसीको शैक्षिक प्रमाणपत्र नक्कली भएको सिआईबीले जनाएको छ ।
सुभाषप्रसाद शाह जनकपुर चिल्ड्रेन हस्पिटल धनुषामा, मोहम्मद शाहिद राजा दीर्घायु गुरु हस्पिटल चावहिलमा र मोहमद सिद्दिकी न्यूरो हस्पिटल विराटनगरमा कार्यरत थिए । अन्य तीन जना भने कुनै संस्थामा कार्यरत नरहेको निर्देशक थापाले बताए ।