नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आज बस्दैछ।
केहीबेरमा पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक बस्ने जनाईएको छ ।
बैठकमा पार्टीको आगामी महाधिवेशन तयारीबारे छलफल हुनेछ। कांग्रेसको १४औं महाधिवेशनको आन्तरिक कार्यतालिका पुनः परिवर्तन गरेपछि शीर्ष नेताहरू आज छलफलमा जुट्न लागेका हुन्।
गत सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको आन्तरिक कार्यतालिका हेरफेर गरेको थियो। जसअनुसार क्रियाशील सदस्यताको नामावली अनलाइन प्रणालीमा पठाउने म्याद बैशाख १५ गते राति १२ बजेसम्म तोकेको छ। यसअघि उक्त म्याद चैत मसान्तसम्म मात्रै थियो।
क्रियाशील सदस्यता नवीकरण र वितरणसम्बन्धी कार्य पार्टीको विधान, नियमावली केन्द्रको परिपत्र बमोजिम तत्काल सम्पन्न गरी वडा, स्थानीय तह, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्लासम्मका सबै कार्यसमितिका निर्णयको प्रतिलिपि, सदस्यता शुल्क र लेवी रकमलगायतका कागजातसहित जिल्लाको प्रतिवेदन आगामी वैशाख १७ गतेभित्र कार्यालयमा बुझाइसक्नु पर्ने कांग्रेसले निर्णय गरेको छ।