कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि काठमाडौं उपत्यकामा कडाइ गर्न थालिएको छ ।
स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको हो ।
विशेषगरी गाडी सञ्चालनमा थप कडाइका साथै प्रयोग गरेका मास्कलगायत सामग्रीको विसर्जनमा ध्यान दिन आग्रह गरिएको छ । अब विसर्जन गर्नुपर्ने मास्क बन्द डस्टबिन वा प्लाष्टिकको झोलामा बन्द गरी पाँच दिनसम्म सुरक्षित राख्नुपर्ने छ ।
त्यसपछि मात्रै विसर्जन गर्नुपर्ने छ । अटेर गरेमा कारबाही हुनेछ । घर तथा सार्वजनिक ठाउँमा जथाभावी नथुक्न र प्रयोग गरेको मास्क जथाभावी नफ्याँक्न भनिएको छ ।
सरकारले दिएको आदेश नमान्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।
सरकारी आदेशअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा सङ्क्रमण रोक्न मानवीय गतिवधि नियन्त्रण गर्न थालेको हो । नयाँ भेरियन्टसहित कोरोना महामारीको सङ्क्रमण बढ्दै गएपछि यसको रोकथाम र नियन्त्रणका लागि निगरानी थालिएको उनले बताए ।
यस्तै, जिल्ला प्रशासन कार्यालय काठमाण्डौले गाडी चलाउँदा चालक र सहचालकलाई मास्क र भाइजर अनिवार्यरूपमा लगाउन निर्देशन दिएको छ ।