नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपालसहित उनी निकटका नेताहरूलाई सोधेको स्पष्टीकरणको जवाफ माधव पक्षले आजै बुझाउने तयारी गरेको छ ।
नेता माधवकुमार नेपालसहितका केही नेताहरूलाई दुईदिन भित्र र सांसदहरूलाई तीनदिन भित्र स्पष्टीकरण बुझाउन भन्दै बैशाख ६ गतेको मिति राखेर मंगलबार स्पष्टीकरण पठाइएको थियो ।
‘हामी तोकिएको समयमा नै स्पष्टीकरण बुझाउने तयारी गरिरहेका छौं, आज नै पठाउने भनेर छलफल र स्पष्टीकरण तयार गरिरहेका छौं,’ एक नेताले भने ।
अध्यक्ष केपी ओलीले मंगलबार माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई २ दिनको समय दिएर र अन्य २७ जनालाई ३ दिनको समय दिएर स्पष्टीकरण सोधेका छन् । चित्तबुझ्दो जवाफ नदिए सांसदबाटै हटाउने र कडा कारबाही गर्ने चेतावनी ओलीले दिएका छन् ।
ओलीले स्पष्टीकरण सोधेपछि मंगलबार नेता नेपालसहितका सांसदहरूले आन्तरिक छलफल गरेका थिए । छलफलमा ओलीले तोकेको समयभित्रमा नै स्पष्टीकरण दिने र पार्टीभित्र नै रहेर ओलीको कदमविरुद्ध संघर्ष गर्ने निष्कर्ष निकालेका थिए ।
माधव–झलनाथ पक्षले राजनीतिक र कानुनी रुपमा नेकपा एमालेभित्र नै रहेर लडाइ लड्ने बताइरहेको छ ।