विदेश जान हिँडेका १३६ जनालाई बुधबार विमानस्थलबाटै फर्काइएको छ ।
नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान लागेको आशंकामा अध्यागमन विभागले उनीहरूलाई विमानस्थलबाटै फर्काइदिएको हो ।
फर्काइएकाहरू जजिरा एयरका ३७, एयर अरेबियाका ५४ र सलाम एयरका ४५ जना रहेको बताइएको छ । उनीहरु आधा नेपाली र आधा भारतीय छन् ।
उनीहरूको नक्कली पिसिआर रिपोर्ट सिनामंगलस्थित सुरिया हेल्थ केयरमा बनाइएको पाइएको छ । उक्त हेल्थ केयरमा मंगलबार मात्र महानगरीय अपराध महाशाखाले छापा मारेको थियो ।
सुरियामाथि विदेश जानेलाई ९ हजार रुपैयाँमा पिसिआर रिपोर्ट नक्कली बनाएको आरोप लागेको छ । पिसिआर रिपोर्ट सुरियामा बनाइएको पाइएपछि नक्कली भएको आशंकामा फर्काइएको अध्यागमन विभागले जनाएको छ ।