logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णयको अधिकार प्रचण्डलाई


अंकुरण खबर
806
Shares

माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।

पार्टी स्थायी कमिटीको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनले भने, ‘स्थायी कमिटीले निर्णय लिने जिम्मेवारी अध्यक्षलाई दिएको छ ।’

बैठकले सिंगो राष्ट्रको एकता र राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतान्त्रिक शक्तिहरूको एकता, संविधान र लोकतन्त्रको रक्षा, सच्चा कम्युनिस्टहरुको एकता र कम्युनिस्ट आन्दोलनको रक्षालाई केन्द्रबिन्दुमा राखेर नीति कार्यक्रम र योजना बढ्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।

उनले भने, ‘त्यसै आधारमा सबै राजनीतिक दल, सामाजिक शक्ति र देशभक्त शक्तिसँग छलफलको प्रक्रिया अघि बढाउने निष्कर्ष निकालिएको छ ।’

बैठकमा विधान संशोधन कार्यदलले पेस गरेको संशोधित विधानको मस्यौदामाथि विभिन्न नेताहरुले आआफ्नो धारणा राखेका थिए ।

श्रेष्ठले भने, सबै सुझावलाई समेत पार्टी केन्द्रीय कार्यालयले अन्तिम मस्यौदाका रुपमा तयार गर्ने र केन्द्रीय कमिटी बैठकमा प्रस्तावका रुपमा पेस गर्ने निर्णय भएको छ ।’

प्रस्तावित विधान संशोधन मस्यौयदाका आधारमा संगठनात्मक कार्यायोजना केही दिनपछि बस्ने स्थायी कमिटी बैठकमा प्रस्तुत गरिने उनले बताए ।