logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भक्तपुरमा खस्यो मेलम्चीको पानी


अंकुरण खबर
1.547K
Shares

मध्यपुरथिमि नगरपालिका–९ टिगनीस्थित खानेपानी ट्याङ्कीमार्फत बुधबारदेखि भक्तपुरको मध्यपुरथिमि क्षेत्रमा मेलम्ची खानेपानी वितरण शुरु गरेको छ ।

केहीदिन भित्रै मध्यपुरथिमि क्षेत्रमा दैनिक ३० लाख लिटर मेलम्चीको खानेपानी वितरण हुने भएको छ ।

भक्तपुर क्षेत्र नं २ का सांसद एवं पूर्वमन्त्री महेश बस्नेत र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बुधबार संयुक्तरुपमा उद्घाटन गरी मेलम्चीको पानी स्थानीयवासीलाई वितरण शुरु गरिएको हो । सो अवसरमा सांसद बस्नेतले भने, “पहिलो चरणमै भक्तपुरमा मेलम्चीको पानी झार्न हामी सफल भयौँ, यो नेपाल सरकारको प्रभावकारी काम हो, तत्कालका लागि अब दैनिक ३० लाख लिटर पानी यहाँबाट वितरण हुन्छ, अब पानीको समस्या समाधान हुन्छ ।”

उनले मध्यपुरथिमिभित्र पनि लोकन्थली, कौशलटार, गठ्ठाघर, बालकुमारी, चपाचो, नगदेशलगायतका पानीको अभाव भएको ठाउँलाई प्राथमिकतामा राखेर पानी वितरण गर्नुपर्नेमा जोड दिए । स्थानीयवासीको समस्या हल गर्दै जानुपर्नेमा जोड दिँदै उनले नीलबाराहीमा थप पानी ट्याङ्की निर्माण गर्नुपर्ने र कर्मचारी नियुक्तिमा स्थानीयवासीलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

मेलम्चीको पानी काठमाडौँ आउने कथा मात्रै हो भन्नेलाई सरकारले पानी ल्याएर देखाइदिएको चर्चा गर्दै नगर प्रमुख श्रेष्ठले भने, “अहिले मध्यपुरथिमिका बासिन्दाका लागि दैनिक १० लाख लिटर मेलम्चीको पानी वितरण शुरु भयो, अब केही दिनमै यसलाई बढाएर दैनिक ३० लाख लिटर पानी वितरण हुन्छ, अब विस्तारै पानीको समस्या समाधान हुन्छ ।” रासस