युरोप पठाइदिने भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन्।
भिजिट भिसामा युरोपका विभिन्न देश पठाइदिने भन्दै १९ लाख ४७ हजार रूपैयाँ ठगी गरेका काठमाडौं महानगरपालिका–१६, नयाँबजार बस्ने चितवन राप्ती नगरपालिका–३ का ३६ वर्षीय भरतप्रसाद राईलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार ग्रायान्डी ग्लोबल होलिडेज प्रालिका सञ्चालक राईले पोर्चुगल, लाटभियालगायतका अन्य देश पठाइदिने भन्दै प्रतिव्यक्ति १० लाख लाग्ने गरी ६ जनाबाट १९ लाख ४७ हजार रूपैयाँ ठगी गरेका थिए।
युरोप पठाइदिने भन्दै ठगी गरेर फरार भएको सूचना पाएपछि महानगरीय प्रहरी अपराध महाशाखा मीनभवनबाट खटिएको टोलीले राईलाई पक्राउ गरेको हो।
आवश्यक कारबाहीका लागि राईलाई महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ।