logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अति आवश्यक परे मात्र अस्पताल आउन अपिल


अंकुरण खबर
663
Shares

भरतपुर अस्पतालले अति आवश्यक परे मात्रै अस्पताल आउन सर्वसाधारणमा अपिल गरेको छ ।

अस्पतालले एक अपिल प्रकाशित गरी अस्पतालमा भीडभाड हुँदा कोभिड–१९ सङ्क्रमणको जोखिम बढी हुने जनाएको हो ।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीद्वारा जारी अपिलमा कोरोनाको सङ्क्रमणको अनुपात दिनानुदिन बढ्दै गइरहेकाले अस्पतालमा धेरै भीडभाड हुँदा सङ्क्रमणको जोखिम बढी हुने जनाइएको छ ।

अपिलमा भनिएको छ “अति आवश्यक अवस्थामा मात्र अस्पतालमा आउनु हुन विनम्र अनुरोध गर्दछौँ ।” अस्पतालमा सेवा लिन आउँदा पनि जनस्वास्थ्यका मापदण्ड मास्क लगाउने, साबुनपानीले समय समयमा हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्नेजस्ता कार्य अनिवार्यरूपमा पालना गर्न पनि अपिलमा आग्रह गरिएको छ । अपिलमा कोभिड सङ्क्रमण हुनबाट आफू बच्न र अरुलाई पनि बचाउन भनिएको छ ।

यो अस्पताल सङ्घीय अस्पताल हो । यहाँ १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । यहाँ दैनिक दुई हजारभन्दा बढीसम्म बिरामी उपचारका लागि आउने गरेको तथ्याङ्क रहेको छ । जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार १४९ पुगेको छ । तीमध्ये सक्रिय सङ्क्रमित २१० रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

सङ्क्रमितमध्ये १८० होम आइसोलेसन र ३० जना अस्पतालमा उपचाररत रहेको कार्यालयका प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार कारोना सङ्क्रमणबाट ११४ को मृत्यु भइसकेको छ । रासस