logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

संक्रमण बढ्न थालेपछि पशुपति क्षेत्रका सबै मन्दिर आजबाट बन्द


अंकुरण खबर
1.092K
Shares

नयाँ भेरियन्टसहितको कोरोना संक्रमण बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने छ ।

थापाले पशुपतिनाथ, गुह्येश्वरी लगायतका मन्दिरहरुमा अनिश्चितकालका लागि नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी रोक लगाइएको बताए । यसबाट भक्तजनमा पर्न गएको असुविधाप्रति कोषले क्षमा मागेको छ ।

तीब्र रुपमा फैलँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड-१९ को सङ्क्रमण नेपालमा समेत बढ्दै जान थालेपछि रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले स्वास्थ्य मापदण्ड जारी गरेकाले त्यसैअनुसार मन्दिर बन्द गरिएको कोषले जनाएको छ ।

सोही ऐनको दफा ४ ले दिएको अधिकार प्रयोग गरी अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिर बन्द गरिएको उनले बताए ।

गत वर्ष पनि कोरोनाबाट बच्न जारी बन्दाबन्दीका कारण नौ महिनासम्म पशुपतिनाथ, गुह्येश्वरीलगायत मठमन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।