कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को निर्देशक समितिको बैठक आज बस्दैछ ।
कोरोना भाइरस महामारीको पछिल्लो अवस्थाबारे छलफल गर्न आइतबार दिउँसो ३ बजे सिंहदरबारमा निर्देशक समितिको बैठक बोलाइएको हो ।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सीसीएमसीका अधिकारीहरुले कोरोना भाइरस महामारीको अवस्थाबारे बिफ्रिङ गरेका थिए । छलफलमा सीसीएमसीले संक्रमण बढी देखिएका क्षेत्रहरुमा चेन ब्रेक गर्न मानवीय गतिविधि ठप्प पार्नुपर्ने सुझाव दिएको थियो ।
बैठकबाट लकडाउन गर्नुपर्ने निष्कर्ष निस्किए त्यसको निर्णयका लागि सीसीएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गर्ने जनाइएको छ ।
आजै बालुवाटारमा पत्रकारहरुसँग कुराकानी गर्दै निर्देशक समिति सदस्यसमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तत्काल देशव्यापी लकडाउनको सम्भावना नरहेको तर स्थानीय तहसँग समन्वय गरेर आंशिक लकडाउन भने हुन सक्ने जनाएका थिए ।