logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पत्रकार पक्राउप्रति महासंघको आपत्ति


अंकुरण खबर
1.339K
Shares

नेपाल पत्रकार महासंघले प्रहरीले उज्यालो नेटवर्क अनलाइनका सम्पादक अनिश तामाङ र महाप्रबन्धक दुर्गालाल तामाङलाई पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले आइतबार विज्ञप्ति जारी गरेर पाटन उच्च अदालतले शुक्रबार ‘समाचारको विषयमा टुंगो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नु–नगराउनु’ भन्ने आदेश दिइसकेको जानकारी दिँदै महासंघले यस्तो अवस्थामा कार्यालयमै पुगेर पत्रकार गिरफ्तार गर्नुलाई लोकतान्त्रिक विधि र प्रक्रिया मात्र नभएर संवैधानिक व्यवस्थामाथिकै ठाडो हस्तक्षेप भएको ठहर गरेको छ।

‘पाटन उच्च अदालतले शुक्रबार ‘समाचारको विषयमा टुंगो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नु-नगराउनु’ भनि पत्रकार तामाङसहितका निवेदकको मुद्दामा आदेश दिइसकेको छ। साथै अनलाइनमा प्रकाशित समाचारको विषयमा प्रेस काउन्सिल नेपालले आफ्नो क्षेत्राधिकारभित्र रही निरुपण गरिसकेको छ,’ महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा अनामनगरस्थित कार्यालयमै पुगेर पत्रकारलाई गिरफ्तार गर्नुले लोकतान्त्रिक विधि र प्रक्रिया मात्र होइन, संवैधानिक व्यस्थामाथिकै ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ। त्यतिमात्र होइन, यो घटनाले अदालतको आदेशलाई पनि सरकारले अटेर गरेको प्रस्ट पारेको छ।’

प्रहरीले आइतबार पक्राउ पुर्जी नै जारी गरेर उनीहरुलाई लिखतसम्बन्धी कसुर, विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा पक्राउ गरेको बताएको छ। केही दिनअघि प्रधानमन्त्री केपी ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलबीच सम्झौता भएको भन्दै छापेको समाचार पुष्टि नभएपछि उक्त अनलाइनले क्षमासमेत मागेको थियो।

गलत समाचार प्रकाशन गरेको भन्दै प्रेस काउन्सिलले अनलाइनलाई स्पष्टीकरण सोधेको र सो अनलाइनले असावधानीवश समाचार प्रकाशन भएको भन्दै क्षमा मागेको थियो। पाटन उच्च अदालतले पनि समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ नगर्न प्रहरीका नाममा आदेश पनि दिइसकिएको अवस्था छ। मुलुकी अपराध संहिता २०७४ मा राज्यविरुद्धको झुटा लिखत गरे सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ।