गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्विरुद्धको अविश्वास प्रस्तावमा छलफल गर्न गण्डकी प्रदेश सभाको विशेषअधिवेशन आज बस्दैछ।
नदीपुरस्थित प्रदेश सभाहलमा आज दिउँसो २ बजे विशेष अधिवेशन बस्ने प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार आज प्रदेश सभामा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा छलफल हुने एक मात्रै कार्यसूची रहेको छ । बैठकमा नयाँ मुख्यमन्त्रीमा प्रस्तावित नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले पहिले बोल्ने तालिका रहेको छ।
आज र भोलि अविश्वास प्रस्तावमा छलफल हुने र १५ गते मतदान हुने आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिमा सहमति भइसकेको छ।
गण्डकी सरकारविरुद्ध विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रदेश सभा सचिवालयमा गत वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।
उक्त प्रस्ताव आउने निश्चित भएपछि प्रदेश सरकारले बैशाख १ गते राति १२ बजेदेखि लागु हुने गरी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरिदिएको थियो।
अधिवेशन अन्त्य भएपछि विपक्षी दलहरूले प्रदेश प्रमुख अमिक शेरचनलाई प्रदेश सभाको विशेष अधिवेशन बोलाउन निवेदन दिएका थिए। सोही निवेदनका आधारमा प्रदेश प्रमुख शेरचनले आज संसदको विशेष अधिवेशन बोलाएका हुन्।