मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध टेबल भएको अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको पहिलो बैठक सकिएको छ ।
सभामुख नेत्रनाथ अधिकारीले दोस्रो बैठक भोलि सवा १२ बजे बस्ने सदनलाई जानकारी दिए ।
बैठक सुरु भएपछि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव सदनमा प्रस्तुत गरेका थिए । त्यसपछि त्यसबारे छलफल सुरु भएको थियो । आजको बैठकमा सात सांसदले छलफलमा भाग लिए ।
६० सदस्यीय प्रदेशसभामा एमालेबाहेकको गठबन्धन बन्दा बहुमत पुग्छ । गण्डकीमा एमालेका २७, कांग्रेसका १५ सांसद छन् । यस्तै, सभामुखसहित माओवादी केन्द्रका १२ र राष्ट्रिय जनमोर्चाका तीन सांसद छन् । यस्तै, जसपाका दुई सांसद डा। बाबुराम भट्टराई–उपेन्द्र यादव प्यानलका हुन् । एक स्वतन्त्र सांसदसहित ६० सदस्य छन् ।
कांग्रेस, माओवादी केन्द्र र जसपाले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । जनमोर्चाका तीन सांसदले पनि अविश्वास प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेका छन् ।