मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मेचीनगर–६ का १६ वर्षीय एक किशोर र भारत पानीट्याङ्कीका २१ वर्षीय सञ्जु वर्मन रहेका छन् ।
मेचीनगर नगरपालिका–७ को नयाँ बसपार्क क्षेत्रमा नेपाल टेलिकमको केबुल तार चोरी भएपछि विगत एक सातादेखि पूर्वीनाका काँकडभिट्टाका १ सय ५० टेलिफोन अवरुद्ध भएका छन् भने इन्टरनेट सेवा बन्द छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालका अनुसार नेपाल टेलिकमको केवल तार चोरी गर्ने गिरोहका दुई जना भारतको पानीट्याङ्कीबाट पक्राउ परेका हुन् । आइतबार राति पानीट्याङ्कीबाट पक्राउ गरेर दुवैलाई हाल इप्रका काँकडभिट्टाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजना लागूऔषध सेवनकर्ता रहेको प्रहरीको भनाइ छ । गिरोहले रातमा तार चोरी गरेर भारतको पानीट्याङ्की बजारमा लगी बिक्री गर्दै आएको पाइएको छ । त्यस्तो तार प्रतिकेजी एक हजारका दरले बिक्री हुने गरेको छ ।